इन्द्रकला यादव
उपाध्यक्ष,
लक्ष्मीनिया गाउँपालिका, धनुषा

हाम्रो गाँउपालिकाको लागि स्वास्थ्य समस्यामध्ये एक जलन पनि हो । पहिले हामीलाई जलनबारे खासै थाहा थिएन । अहिले यसबारे हामीलाई धेरै थाहा भएको छ । जलनसम्बन्धी कार्यमूलक अनुसन्धान गर्ने संस्था सगुन नेपालसँग सहकार्य गर्न थालेपछि हामीलाई यसबारे थाहा भएको हो । जलन विभिन्न कारणले हुने रहेछ । आगोको ज्वालाले पोल्ने, ताता झोल पदार्थ शरीरमा परेर जलन हुने र तातोवस्तुसँगको सम्पर्कबाट जलन हुने रहेछ । त्यस्तै, करेण्ट लागेर र शरीरमा रसायनिक पदार्थ परेर पनि जलन हुने रहेछ । यसमध्ये हाम्रो क्षेत्रमा धेरैजसो आगो र तातो झोल पदार्थबाट जलन हुने गरेको पाइन्छ । जलनको समस्यालाई कसरी समाधान गर्ने भन्नेबारे हामीलाई धेरै नै चिन्ता थियो । हरेक वर्ष जलनकै कारण सयौँ मान्छेले दुःख पाईरहेको देखेर पनि यसलाई नियन्त्रण गर्न सकिएको थिएन । विगतमा ‘जलन’ भयो, अनाहकमा ज्यान गयो भनेर दुःख मान्ने र सहानुभूति दिनुबाहेक केही गर्न सकिएको थिएन । सगुन संस्थाले गाउँपालिकासँगको सहकार्यमा जलन रोकथाम कार्यक्रमहरू सञ्चालन ग¥यो, सरोकारवालाहरू र समुदायमा जलन रोकथामबारे जनचेतना अभिवृद्धि भई जलन घटनामा निकै कमी आएको छ । त्यसैले सगुनलगायत जलन रोकथाम कार्यमा सङ्लग्न सबै निकायहरूलाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।
जलन रोकथामका लागि के गर्नुपर्छ भन्नेबारे हामीलाई थाहा थिएन । यस्तो अवस्थामा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यार्थीहरूलाई समेत परिचालन गरेर अहिले जलन रोकथामबारे व्यापक जनचेतना वृद्धि भएको अवस्था छ । यसै क्रममा मैले पनि जलन रोकथामबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने अवसर पाएँ । हाम्रोमा जलन रोकथामबारे सामान्य जानकारीको अभावले धेरैले अनाहकमा ज्यान गुमाउनु परेको थियो । अहिले यसलाई रोक्न हामी सफल भएकाछौँ । पहिलो पटक हाम्रो गाउँपालिकामा यस कार्यक्रम कार्यान्वयन भएकोले हामीले सबैभन्दा पहिले लाभान्वित हुन पाएका छौँ ।
हाम्रो पालिकामा जलनको घटना भएपछि त्यसका तथ्य पत्ता लगाउनको लागि न्यायिक समितिमा समेत आउने गर्दथे । गत दुईवर्ष यता जलनको घटनामा धेरै नै कमी आएकोले त्यस्ता घटना अध्ययन गर्नुपर्ने कुराहरूमा पनि कमी आएको छ । जलन विभिन्न कारणले हुने गर्दछ । प्राय जलन दुर्घटनाको रुपमा हुने गर्दछ भने केही घटनाहरु नियतवस हुन्छन् । केहीले जलनको माध्यमबाट आत्महत्या गर्ने प्रयास गरेको पाइएको छ भने केही त दोस्रो व्यक्तिलाई पीडा दिने वा मार्ने नियतले पनि जलन गराइदिने गरेको देखिन्छ । हाम्रो गाउँपालिकामा जाडोयाममा धेरै नै जाडो हुन्छ । शरीर तताउनका लागि उनीहरु धुर ताप्ने गर्दछन् । प्रायजसो वृद्ध महिलाहरुमा धुर ताप्ने क्रममा उनीहरुको शरीरको कपडामा आगो सल्केर जलन भएको पाइन्छ । युवाहरुले जस्तो आगो लाग्ने बित्तिकै निभाउन उनीहरु सक्दैनन् । सगुन संस्था र हाम्रो गाउँपालिकाले संयुक्त रुपमा गरेको सर्वेक्षणले जलनका अधिकांश घटना भान्सामा हुने गरेको देखाएको छ । भान्सामा बढी समय बिताउने महिलाहरु नै हुनेहुँदा उनीहरु नै जलनबाट सबैभन्दा पीडित हुन्छन् । जलनका घटनाबाट पीडित हुनेहरुमध्ये आधाभन्दा बढी महिलाहरु नै हुन्छन् । जलनमा परेका महिलाहरुको अनुहार बिग्रियो भने वा उनीहरु अपाङ्ग भए भने उनीहरुको सिङ्गो जीवन नै नरक जस्तो भइहाल्छ । कत्तिको त जलन भएकै कारण बिहे हुन नसकेको र बिहे भएकाहरुको वैवाहिक जीवन बिग्रेको पनि देखिन्छ । जलनले महिलाको जीवनमा धेरै नै नकारात्मक असर पार्दछ । त्यसैले, जलन एक महिला सवाल पनि हो । हाम्रो गाउँपाकिलामा जलनको कार्यक्रम सञ्चालन भएपछि यसमा आएको कमीले महिलाहरुलाई धेरै नै राहत मिलेको छ । महिलाहरूको तर्फबाट पनि यस कार्यक्रमलाई धन्यबाद भन्छु । जे होस ४ वर्ष अगाडिसम्म जति मात्रामा घटनाहरू हुने गर्दथ्यो अहिले धेरै नै कमी भएको छ । यसकारण हामी धेरै नै खुसी छौँ ।
तराईका अन्य ठाउँमा पनि यस्ता घटना हुने गरेकोले यस्ता कार्यक्रमहरूलाई अन्य पालिकाहरूमा पनि सञ्चालन गर्दा अन्यत्रका महिलाहरू पनि जलनको समस्याबाट बच्ने थिए । छिमेकी गाउँपालिकाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने हो भने व्यक्तिगत रूपमा भएपनि हामी सहयोग गर्न तयार छौँ । जसले गर्दा त्यहाँका महिलाहरू पनि जलन हुनबाट बच्न सक्नेछन् ।
जलनमा परेका धेरै घटनाहरू देखेको छु र मलाई पनि आइरनले पोलेको छ । त्यसैले जलनको दुःखाई कस्तो हुन्छ भन्ने मलाई थाहा छ । महिलाहरूलाई यस्ता दुःख हुन नदिन रोकथाममा जोड दिनुपर्छ, उपचारै गर्न नपर्ने गरी बचाउनु पर्छ । जलन भयो भने त्यसको उपचारमा धेरै खर्च हुन्छ । त्यसैले रोकथामको बारेमा जानकारी दिनु नै उत्तम हुन्छ ।

जलनको घटना रोक्न नीति पनि चाहिने रहेछ । जलनको कार्यक्रम गर्ने क्रममा हामीले यसबारे धेरै कुराकानी गरेका छौँ । आगामी दिनमा जलन रोकथामको लागि लक्ष्मीनीया गाउँपालिकाले पनि जलन रोकथामको लागि प्रयास गर्नु पर्छ । नीति नै बनाएर जलन रोकथाम गर्ने हाम्रो योजना छ । यो व्यक्तिको मात्र समस्या होईन पुरै देशदुनियाको सवाल हो । हामी सबै मिलेर जलन रोकथामको लागि काम गर्नुपर्छ । हाम्रो गाउँपालिका यसको लागि सहयोग गर्न सँधै तयार छ ।
महन्त बाबु महर्जनसँगको कुराकानीमा आधारित लेख




एकदमै खुशी लाग्यो यस कार्यक्रममा म पनि सहभागी हुन पाउदा । खासमा जलन सम्बन्धी रोकथाम तथा उपचार सन्दर्भमा यस क्षेत्रका आमनागरिक त्यति सतर्क र जिज्ञासु थिएनन् तर यस “सगुन-नेपाल”को सहकार्यमा सञ्चालन भएको जलन सम्बन्धी कार्यक्रम निकै नै प्रभावकारी रहयो।आज जलन सम्बन्धी मानिसहरु सचेत हुन पाउँदा खुशी लागिरहेको छ ।
फेरि पनि धन्यवाद !!
लक्ष्मिनिया गा.पा. र सगुन नेपाल !!
Jalan le garda tapai KO pati le tapai KO kaam ma hastachep garxa