आफ्नो बारेमा केही बताइदिनुस न !
म डा.किरण नकर्मी, कीर्तिपुर अस्पतालको ‘बर्न, प्लास्टिक तथा रिकन्सट्रक्टिभ सर्जरी विभाग’मा लगभग २० वर्षदेखि कार्यरत छु । मैले यस अस्पतालमा विभागीय प्रमुखको रुपमा काम गर्न थालेको करिब साढे दुईवर्ष भयो । जलनका बिरामीहरूको उपचारमा नै मेरो प्रमुख भूमिका रहँदै आएको छ । हामीले जोड दिनुपर्ने भनेको त जलनको रोकथामका लागि नै हो । त्यसैले जलन रोकथामका लागि जनचेतनामूलक कार्यमा पनि आवद्घ छु । वि.सं. २०५६ सालदेखि ‘बर्न डिफर्मिटी’को शल्यक्रियाका साथै २०६० सालदेखि देशको विभिन्न केन्द्रमा गएर जलनका कारण अङ्ग कुँजिएको र विकलाङ् भएकाहरूको लागि गरिने शल्यक्रियामा सङ्लग्न रहेर काम गर्दै आएको छु ।
तपाई कार्यरत अस्पतालमा जलनका कस्ता बिरामीहरू धेरै आउने गरेका छन् ?
धरैजसो बिरामीहरू भान्साकोठामा काम गर्दा जलन भएर आउने गरेको पाएको छु । अस्पतालको तथ्याङ्कअनुसार पनि करिब ८० प्रतिशत बिरामीहरूमा आगोले पोलेर जलन भएको पाएको छु । बाँकीका जलनका घटनाहरू तातो तरल पदार्थ, विद्युत र रसायनले पोलेर जलन भएको पाएको छु । पछिल्लो तथ्याङ्कअनुसार विद्युतीय जलनका घटनाहरू बढ्दो क्रममा छ । वार्षिक लगभग ६०० जलनका बिरामीहरू यस अस्पतालमा आउने गरेका छन् । कोरोनाका कारण यस वर्ष भने जलनका विरामीहरू अघिल्लो वर्षको तुलनामा कम छन् ।
कुन क्षेत्र र कस्तो आर्थिक अवस्थाका बिरामीहरू यस अस्पतालमा आउने गरेका छन् ?
यस अस्पतालमा तराईबाट जलनका घटनाहरू बढी आउने गरेका छन् । भान्साको काममा पुरुषभन्दा महिलाहरू बढी क्रियाशील हुने गर्दा जलनबाट महिला र बालबच्चाहरू नै बढी प्रभावित भएका देखिन्छन् । जाडोयाममा भने वृद्घवृद्घाहरूसमेत जलनमा परेको देखिन्छ । आगो ताप्ने क्रममा उनीहरूमा बढी जलन हुने गरेको छ । यस अस्पतालमा धेरैजसो जलनका बिरामीहरू उपत्यकाभन्दा बाहिरका हुन्छन् । आर्थिक रुपमा कमजोर परिवारको भान्सा कोठा सुरक्षित हुँदैन । पकाउने, खाने, मानिस बस्ने नजिकै हुन्छ । त्यसैले पनि उनीहरूमा जलनको जोखिम ज्यादा हुन्छ । आमाबुवा जिविकोपार्जनमा व्यस्त हुनुपर्ने र स–साना बालबालिका घरमा एक्लै छाडिने कारण पनि विपन्न परिवारका साना बालबालिका जलनमा पर्ने गरेको पाइन्छ ।
ग्रामीण र शहरी क्षेत्रबिच जलनको घटनाहरूमा के अन्तर देख्नु भएको छ ?
मेरो अनुभव र अस्पतालको तथ्याङ्कअनुसार पनि जलनका घटनाहरू ग्रामणी क्षेत्रमा बढी घट्ने गरेको पाएको छु । ग्रामीण भेगको जीवनशैली र अभ्यासले गर्दा पनि जलनका घटनाहरू बढेको देखिन्छ । गाँउघरमा खाना पकाउने चुलो प्राय भुइँमा बनाइन्छ । ग्रामीण भेगका प्राय महिलाहरुले साडी लगाउँछन् । चिप्लो प्रकारका कपडालाई आगोले सजिलै टिप्छ । यसरी उनीहरु जलनबाट बढी प्रभावित हुन्छन् । चुलोमा आगो बाल्दा लगाएका कपडाहरू जलेर भएका जलनका घटनाहरू पनि प्रशस्तै आउँछन् । शहरी क्षेत्रमा प्रयोग गरिने ग्याँस चुलोको उचित व्यवस्थापन नगर्दा सानो असावधानीले समेत जलनको घटनाहरू घटेको पाइएको छ । भान्सामा प्रयोग गरिने ग्याँस चुलोको पाइप, रेगुलेटर र चुलोसमेत गुणस्तरहीन हुँदा खाना पकाउँदा वा पकाईसकेपश्चात् ग्याँसको चुहावट भएर आगो लाग्दा जलन भोगेको घटनाहरू पनि प्रशस्त छन् ।
जलनको उपचारबारे केही बताइदिनु होस न !
अन्य घाउको भन्दा जलनको घाउ निको हुन ज्यादा समय लाग्दछ । घाउको अवस्थाअनुसार हामीले जलनलाई दुई प्रकारमा विभाजन गर्न सक्छौँ । एक, सामान्य जलन भने अर्को, गम्भीर जलन । छालाको सतहमा मात्र जलन भएको छ भने त्यसलाई सामान्य जलन भनिन्छ । घाउको प्रकारअनुसार जलनको उपचार प्रक्रिया पनि फरक हुन्छ । सामान्य जलन भएको खण्डमा बिरामीलाई अस्पताल भर्ना गर्नु पर्दैन । सतही जलनमा सामान्य उपचारबाट बिरामीलाई निको पार्न सकिन्छ । तर, यदि जलन गहिरिएको छ भने बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । वयस्क व्यक्तिको शरीर सतहको २० प्रतिशतभन्दा बढी र साना बच्चाहरूमा १० प्रतिशतभन्दा बढी जलन भएको अवस्थालाई गम्भीर जलन भन्ने गरिन्छ, जसमा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ । यदि गम्भीर प्रकारको जलन भएमा यसको उपचार समय पनि बढी लाग्छ र खर्च पनि बढी हुन्छ । गम्भीर जलनले पीडितलाई शारीरिक साथै मानसिक असरसमेत पर्दछ । जलन कुन अङ्गगमा भएको छ भन्ने कुराले समेत यसको उपचार प्रक्रिया निर्धारण गर्नेगर्छ । यदि जलन आँखा, पेट वा यौनाङ्गमा भएको छ भने बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । विद्युतीय वा कुनै रसायन पदार्थबाट हुने जलनमा घाउको अवस्था सानो देखिए तापनि यसले भित्री असर पार्न सक्ने हुँदा विशेष उपचारको आवश्यक पर्छ । गर्भवती महिला र अन्य दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह, मुटुरोग भएकाहरूलाई जलन भएको खण्डमा पनि विशेष उपचार गर्नुपर्ने हुन्छ ।

तपाईको विचारमा जलन रोकथामका उपायहरू के के हुन् ?
जलन रोकथामको लागि सर्वप्रथम त जलनको कारणमा ध्यान दिनु आवश्यक हुन्छ । गाँउघरमा खाना बनाउँदा हुने गरेको जलन रोकथाम गर्न चुलोको स्तरोन्नति गर्नु पर्दछ । चुलो जमिनबाट कम्तिमा पनि तीन फिटको उचाईमा बनाउनु पर्छ । खाना बनाउँदा आगोले सजिलै जल्ने कपडाहरू लगाउनु भएन । चुलोमा आगो बचाइरहने बानिले कुनैपनि बेला जलन हुनसक्ने हुँदा आवश्यक परेको बेलामा मात्र आगो बाल्ने गर्नुपर्छ । पकाईसकेको तातो खानेकुरा बच्चाहरूको पहुँच भन्दा टाढा राख्नुपर्छ । ग्याँसको प्रयोगमा खाना पकाउने गरेको भए कतैबाट ग्याँसको चुहावट भए नभएको विचार गर्नुपर्छ । यदि चुहावट भएको शंका लागेमा तुरुन्तै ढोका र झ्यालहरू खोलेर हावा आवतजावत हुन दिनुपर्छ । यस्तो अवस्थामा सलाई कोर्ने, बत्ती बाल्ने र मोबाईल चलाउने जस्ता कार्य गर्नु हुँदैन ।
जलन रोकथाममा अस्पतालको भूमिका के होला ?
तपाईले एकदमै राम्रो प्रश्न गर्नुभयो । अस्पताल एउटा उपचार केन्द्र हो भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उपचारमा मदत पुर्याएका हुन्छन् । मेरो विचारमा अस्पतालहरूले उपचारमात्र गर्छु भनेर बसेको खण्डमा जलनको रोकथाक हुन सक्दैन । अस्पतालले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग मिलेर जतचेतना फैलाउनु पर्छ । रोकथामको उपायहरूलाई बढी प्राथमिकता दिनुपर्छ । अस्पतालमा जलन भएर आउने बिरामी र तिनका कुरुवाहरूलाई जलनको कारण र यसका रोकथामका उपायबारे सिकाएर पठाउनु पर्दछ । अस्पतालले उपचार गर्दा उपचार मात्र नभएर बिरामीहरूलाई जलनको बारेमा बुझाउन पर्छ । साथै, जलनका विषयमा अध्ययन र अनुसन्धान गरेर अघि बढ्न आवश्यक छ, जुन कार्य अस्पतालले गर्न सक्छ ।
जलन रोकथाका लागि तपाईको प्रतिबद्घताहरू के के रहेका छन् ?
जलन रोकथाममा म प्रतिवद्घ छु । नेपाल जलन फाउनडेसनमा रहेर मैले सकेका कामहरू गर्दै आएको छु । सगुन नेपाल, इन्टरबन्र्स् लगायत विभिन्न संस्थाका कार्यहरुमा सहयोग गर्दै आएको छु । जलनपश्चात् उपचारको पाटो त छ नै तर, रोकथामको लागि जनचेतनामुलक कममा समेत आवद्घ रहेको छु । भावी दिनमा जलन सोकथामका लागि मेरो प्रयास र योगदानहरू निरन्तर रहने छन् ।

कीर्तिपुर अस्पतालमा दुई दशकअघिदेखि जलन उपचार क्षेत्रमा सङ्लग्न डा. किरण नकर्मीसँग
सगुन संस्थाका सदस्य तथा नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान
(पूर्वाञ्चाल विश्वविद्यालयसँग आवद्ध)का सह–प्राध्यापक
श्री पुण्यस्वरी सुवालले लिनु भएको अन्तर्वार्ताको मुल अंश




जलनका विषयकाे याे Article ज्ञानबर्धक लाग्याे । धन्यवाद डा. साप ।
डॉ. किरण को राम्रो परिचय सहित को “बर्न्स – Burns” सम्बन्धी ज्ञानबर्धक , सचेतनामूलक राम्रो जानकारी प्रस्तुत गरिएको छ ! यसको लागि धेरै धन्यवाद !