मेरो नाम जून स्वार हो । म अहिले ९ वर्षको भएँ र ‘काठमाडौं वल्र्ड स्कूल’ मा कक्षा ४ मा पढ्दैछु । मेरो पापा (Father) र मामा (Mother) दुवैजना डक्टर हुनुहुन्छ । मेरो मामा सुषमा कोइराला मेमोरियल अस्पतालमा सर्जन हुनुहुन्छ । उहाँहरू दुवैजना मेरो साथी जस्तै हुनुहुन्छ । अस्पतालमा भएका कुराहरू सुनाउनु हुन्छ । कहिलेकाहिँ अस्पतालका बिरामीहरूको फोटोहरू पनि देखाउनु हुन्छ । मामा काम गर्ने अस्पतालमा आगोले पोलेको, करेन्ट लागेर जलेको बिरामीहरू धेरै आउँदा रहेछन् । उनीहरूको ‘बडी’ जलेको फोटो त देख्दा पनि डर लागेर आउँछ । आगोमा पर्ने धेरैजसो केटाकेटी हुने रहेछन् ।
मेरो मामाले भन्नु भएको आगोले पोल्ने, करेन्ट लागेर डढ्ने, तातोपानीले पोल्नेलाई जलन भएको भनिन्छ । मैले मेरो मामाबाट जलनबारे धेरै कुरा सिक्न पाएको छु । मानिसको शरीरमा धेरै कारणले जलन हुने रहेछ, जस्तै आगोले पोलेर, करेन्ट लागेर, केमिकल परेर र तातोपानी, कफी, दाल परेर । मेरो मामाले केही महिनाा अगाडि जलन पत्रिकामा अन्तर्वार्ता दिनु भएको थियो । मामाको त्यो अन्तर्वार्ता मैले पढ्न पाएको थिएँ । त्यसमा पनि यस्तै कुराहरू लेखिएका थिए । मैले त्यही पत्रिकामा पढेको, धेरै मानिसहरूको दुर्घटनामा परेर जलन हुने रहेछ । केही त कसैले जानीजानी जलन गराइदिने पनि रहेछ । मान्छेले कसरी अरुलाई जलन गराउन सकेका होलान्, सुन्दा पनि दुःख लाग्छ । एक महिना अगाडि मेरो मामाले रसुवा र काभ्रेमा जलनको तालिम दिन जाँदा मलाई पनि लिएर जानु भएको थियो । त्यहाँ मैले धेरै कुरा सिक्न पाएँ । तालिममा ड्रेसिङको अभ्यास गर्दा मैले ‘रोल–प्ले’ मा भाग लिने मौका पनि पाएँ । तालिमको बेलामा मलाई एकजना सरले जलनबाट बच्न केटाकेटीहरूले के के गर्नुपर्छ भनेर सोध्नु भएको थियो । मैले सोँचेर भन्छु भनेको थिएँ । उहाँले मलाई यसबारेमा लेखेर दिनु भन्नुभयो । मेरो बिचारमा हामी केटाकेटीहरूले जलनबाट बच्न धेरै कुरामा ध्यान दिनुपर्छ । जस्तैः
- (क) हामीले आगोसँग खेल्नु हुँदैन । आगो नजिक बस्नु हुँदैन । जाडोमा हिटर ताप्दा पनि नजिक बस्नु हुँदैन ।
- (ख) हामी आफैले ग्याँस बाल्नु हुँदैन ।
- (ग) मैले तालिममा सुनेको हामी आफैले मोबाइल चार्ज गर्नु पनि हुँदैन, करेन्ट लाग्न सक्छ । कहिलेकाहिँ त चार्जमा राखेको मोबाइल पड्केर आगलागी हुन पनि सक्छ ।
- (घ) घरमा कतै नाङ्गो तार देख्यो भने तुरुन्तै प्यारेन्ट्सलाई भन्नुपर्छ । नाङ्गो तारमा करेन्ट लाग्छ । त्यसैले, नाङ्गो तारमा टेप लगाई हाल्नुपर्छ ।
- (ङ) किचेनमा पकाएर राखेको खानेकुरा छुनु हुँदैन । किचेनमा दौडनु हुँदैन रहेछ, यसो गर्दा लडेर आगोमा परियो भने जलन हुन सक्छ ।
- (च) कपडामा आइरन लगाउँदा नजिक बस्नु हुँदैन । आइनरलाई छुनु पनि हुँदैन । मेरो मामाले मलाई बताउनु भयो कि मामा सानो हुँदा तातो आइरनले जलेको थियो रे ! त्यसैले तातो आइरनबाट हामी बच्नुपर्छ ।
- (छ) तिहारमा पटका पड्काउन पनि हुँदैन । पटका पड्काउँदा हात र जीउमा आगो लाग्न सक्छ । पटका पड्काएर जनकपुरको एकजना सानो केटाको हात पूरै जलेको फोटो मामाले देखाउनु भएको थियो । पटका पड्केर हात पूरै जल्ने रहेछ ।
मलाई जलनको प्राथमिक उपचारबारे पनि अलिअलि थाहा छ । एकपटक जाडो महिनामा म र मेरो पापा खुट्टा तताउन हटवाटर व्यागमा खुट्टा राखेर बसिरहेका थियौँ । दुईजनाले थिचेर होला अचानक हटवाटर व्याग फुट्यो । पापा र मेरो खुट्टा जल्यो । मामाले सँधै भनिरहनु हुन्छ कि यदि हामीलाई तातोपानी वा आगोले पोल्यो भने हामीले जलेको भागमा बगिरहेको पानी खन्याइरहनु पर्दछ । त्यो दिन पनि म र मेरो पापा वाथरुममा गएर खुट्टामा ३० मिनेटसम्म चिसोपानी खन्याइराख्यौँ । त्यसपछि हामीलाई ठिक भयो । त्यतिबेला मामा अस्प्तालमा ड्यूटिमै हुनुहुन्थ्यो । पछि मैले मामालाई हामीलाई खुट्टामा हटवाटर ब्याग फुटेर पोलेको र हामीले पोलेको ठाउँमा ३० मिनेटसम्म चिसोपानी खन्याएको कुरा बताएँ । मामा हामीसँग धेरै खुसी हुनुभयो ।

मलाई जलनबारे यस्ता कुराहरू थाहा छ । तर, मेरो स्कूलका साथीहरूलाई थाहा छैन । हामीजस्ता केटाकेटीहरूले जलनबारे थाहा पाउनुपर्छ । मेरो बिचारमा हामीलाई जलनबाट बच्न यस्ता कुराहरू स्कूलमा पनि सिकाउनुपर्छ । टेलिभिजनमा पनि यस्ता कुराहरू देखायो भने हामीले सिक्न पाउँछौँ । जलनको कुरा सिकाउने कार्टुन फिल्म बनायो भने झनै राम्रो हुन्छ । मामाले भन्नु भएको हामी सबैजनाले जलनबाट बच्नुपर्छ र अरुलाई पनि जलन हुनबाट बचाउनुपर्छ ।
जून स्वार Kathmandu World School, भक्तपुरमा कक्षा ४ मा अध्ययनरत छिन्



