लामो समयदेखि प्लास्टिक सर्जनको रुपमा कार्यरत प्रा.डा. शंकर मान राई लामो समयदेखि जलनको बिरामीहरूलाई स्वास्थ सेवा दिने कार्यमा सक्रिय हुनुहुन्छ । उहाँ जलनका सम्बन्धमा अध्ययन अनुसन्धान समेतमा सङ्लग्न हुनुहुन्छ । कमल फुयाल र महन्तवावु महर्जनले डा. राईसँग लिएको अन्तर्वार्ताको मुल अंश ।
आफ्नो बारेमा केही बताईदिनुस् न
मेरो नाम शंकर मान राई । मेरो जन्म खोटाङ जिल्लाको दिक्तेलमा भएको हो । हाल म प्लास्टिक सर्जनको रुपमा कीर्तिपुर सामुदायिक अस्पतालमा कार्यरत छु । धरैअघि मैले सोलखुम्बु जिल्लामा लगभग १८ महिना ‘हेल्थ अशिष्टेण्ट’को रुपमा काम गरेको थिएँ । नेपालको शिक्षण अस्पतालमा एम.वि.वि.एस. अध्यापन सुरु भएपछि दोश्रो ब्याचबाट एम.बि.बि.एस. पुरा गरेँ । पढाई सकेपछि मैले २ वर्ष शिक्षण अस्पतालमा सर्जरी शाखामा काम गरेँ । त्यसपछि ३ वर्षको जनरल सर्जरीसम्बन्धी अध्ययनका लागि बंगलादेश गएँ । अध्ययनपश्चात् शिक्षण अस्पतालमा ३ वर्षसम्म जनरल सर्जनको रुपमा काम गरियो । कामको सिलसिलामा प्लाष्टिक सर्जरीसम्बन्धी थप सिक्ने चाहना भयो । त्यसै क्रममा ‘फेलोसिप’पाएर प्लाष्टिक सर्जरी विषयमा अध्ययन गर्न अढाईवर्षका लागि अमेरिका गएँ । पछि, प्लाष्टिक सर्जरीको मास्टर्स तहको अध्ययन चाँही बंगलादेशबाट पुरा गरेँ । अध्ययनपश्चात् नेपालको विभिन्न अस्पतालमा प्लाष्टिक सर्जनको रुपमा सेवा गर्ने अवसर पाइयो । सन् २०१३ देखि कीर्तिपुर अस्पतालको जलन शाखामा प्लाष्टिक सर्जनको रुपमा कार्यरत छु । यस अस्पतालमा गत पाँचवर्षमा नेपालका ७३ जिल्लाबाट जलनका बिरामी उपचारका लागि आएको तथ्याङ्क हामीसँग छ । अध्ययनपश्चात् नेपालको विभिन्न अस्पतालमा प्लाष्टिक सर्जनको रुपमा सेवा गरेँ । सन् २०१३ देखि कीर्तिपुर अस्पतालको जलन शाखामा प्लाष्टिक सर्जनको रुपमा कार्यरत छु । यस अस्पतालमा गत पाँचवर्षमा नेपालका ७३ जिल्लाबाट जलनका बिरामी उपचारका लागि आएको तथ्याङ्क हामीसँग छ ।
अहिले नेपालमा जलनको अवस्था कस्तो छ ? जलन उपचारका लागि आउने व्यक्तिहरू कस्तो पृष्ठभूमिका छन् ?
नेपालमा जलनको बारेमा आधिकारिक तथ्याङ्क छैन नै भन्दा हुन्छ । तथापि, नेपालका विभिन्न सरकारी अस्पतालहरूमा भर्ना भएका जलनको बिरामीहरूको आंकडा हेर्ने हो भने प्रत्येक वर्ष ४५ देखि ५० हजारसम्म बिरामीहरू भर्ना भएको देखिन्छ । बिरामीहरू नीजी अस्पताल तथा धामीझाँक्रीमा पनि गएका हुन्छन् । कति बिरामी त जलन भए तापनि उपचारको लागि कतै पनि नजाने हुन्छन् । उनीहरुको जलनबारे कतै उल्लेख हुँदैन । त्यसैले नेपालमा वर्षमा यति नै सङ्ख्यामा जलनको दूर्घटना हुन्छ भन्ने प्रस्ट तथ्याङ्क हामीसँग छैन । मेरो बिचारमा नेपालमा जलनका बिरामीहरूको संख्या ५० हजारभन्दा बढी हुनुपर्छ भन्ने लाग्दछ ।
यहाँ जलन भन्नाले आगो, तातो झोल पदार्थ वा तातो वस्तुले पोलेको, करेण्ट लागेको वा रसायनिक पदार्थ (जस्तो एसिड आदि)ले डढेको भन्ने रुपमा बुझ्नु पर्दछ । तसर्थ, नेपालका जलनका बिरामीहरूको विश्लेषण गर्दा अधिकांस बिरामीहरू गरिव तथा असहाय पारिवारिक पृष्ठभूमिबाट आएका देखिन्छन् । उनीहरूको परिवारमा पकाउने ठाउँ, खान बस्ने ठाउँ सुरक्षित हुँदैन । कोठाको एककुनामा पकाउने, अर्को कुनामा सुत्ने र आगो खुल्ला राख्ने (भोलीपल्टको लागि ननिभाई राख्ने) चलन भएको हुनाले धेरैजसो गरीव परिवारका सदस्यहरू नै जलनको मारमा पर्दछन् । त्यस्ता परिवारहरूले बालबालिकाहरूको हेरचाहमा समय दिन नसक्ने भएकोले तिनका बालबालिकाहरू जलनबाट बढी प्रभावित हुन्छन् । जलन प्रभावितहरूको सामाजिक–आर्थिक अवस्था कमजोर भएकोले तिनीहरूको वास्तविक आंकडा पनि उपलब्ध छैन । त्यसैले यो समस्या कति जटिल छ भनेर आधिकारिक रुपमा भन्नु कठीन छ ।
जलनको बिरामीको मृत्युदर कस्तो छ ?
यस सम्बन्धमा एकिन गरेर भन्न मुस्किल छ । कति प्रतिशत जलन भएको छ र कुन गहिराईको जलन भएको छ भन्ने कुराले मृत्युदर निर्धारण हुन्छ । त्यसमाथि हाम्रो अस्पतालमा कतिपय बेला जलनका बिरामीहरु लामो समयपछि (सुरुमा अन्य उपचारको लागि अन्यत्र गएर कतै उपचार नपाएपछि मात्र) सङ्क्रमण भईसकेको अवस्थामा मात्र आईपुग्ने गरेका पनि छन्, जसलाई बचाउन मुस्किल पर्दछ । जलनको बिरामीको सङ्ख्या र मृत्युदरबारे विभिन्न अस्पतालको आ–आफ्नै तथ्याङ्क होला । हाम्रो कीर्तिपुर अस्पतालको कुरा गर्ने हो भने सन् २०१४ मा जम्मा ९० जना जलनका बिरामी भर्ना भएका थिए भने सन् २०१८ मा भर्ना भएको जलनको बिरामी सङ्ख्या ६०८ पुगेको थियो । यसले जलनको घटनामा वृद्धि भएको भएर हो भनेर बुझ्नु हुँदैन । जलन भएका बिरामीलाई उपचार गराउनुपर्छ भन्ने चेतनामा वृद्धि भएर हो वा सडक विस्तार भएको कारण अस्पताल ल्याउन सकेर हो वा अन्य कारण पनि हुनसक्छ । जलन हुने वास्तविक सङ्ख्या जान्नको लागि त समुदाय तहमा नै सर्वेक्षण गर्नुपर्छ वा यस्ता घटनालाई रेकर्ड गर्ने व्यवस्था गरिनु पर्दछ ।
हाम्रो अस्पतालमा सन् २०१८ मा भर्ना भएका ६०८ जना जलनका बिरामीमध्ये करीव २२ प्रतिशतलाई हामीले गुमायौँ वा बचाउन सकेनौँ । अघि भनेझैँ ति ६०८ जना बिरामीहरूमध्ये कतिपय बिरामी जटिल अवस्थामा पुगेपछि मात्र ल्याइएको हुँदा यस्तो अवस्थामा बिरामीको मृत्युको सम्भावना बढी हुन्छ । तर, अन्य रोगका बिरामीको तुलनामा कुल जलनको बिरामीमध्ये २२ प्रतिशत घर फर्कन नसक्ने भनेको ठूलो संख्या हो । हुन त यसलाई हामी अन्य देशसँग तुलना गरेर पनि हेर्न सक्छौँ । उदाहरणको लागि पाकिस्तानको विश्वविद्यालयद्वारा संचालित एक ठुलो अस्पतालमा १०० जना भर्ना हुँदा ४३ जना घर फर्कन सक्दैनन् वा उनीहरूको मृत्यु हुन्छ । त्यस्तै प्रकारका बिरामीहरू अमेरिकामा हुने हो भने १०० मा २ जना मात्र घर फर्कन सक्दैनन्, अरुलाई उनीहरू बचाउँछन् ।
जलनसम्बन्धी सरकारको नीति के कस्तो छ ?
अपसोसको कुरा सरकार लगायत अन्य सरोकारवालाहरूको लागि जलन चासोको विषय बन्न सकेको छैन । अन्य रोगका बिरामीहरूको जस्तो जलन प्रभावितहरूले आफ्नो उपचारको लागि आफै वकालत गर्न सक्ने अवस्था पनि छैन । उदाहरणको लागि सुगर (मधुमेह) रोगीहरूको संस्था छ । मुटुका रोगीहरूको संस्था छ । उनीहरू नियमित रुपमा भेट्छन् र आफ्नो समस्यासम्बन्धी उपयुक्त नीति बनाउन सम्बन्धित निकायलाई सुझाव र दबाब पनि दिन सक्छन् । तर, जलनका बिरामीहरू यसरी संगठित हुन सकेका छैनन् । यसलाई वर्गीय दृष्टिकोणबाट पनि हेर्नुपर्ने हुन्छ । यस्तो घटना प्रायः कमजोर आर्थिक अवस्था भएकाहरूलाई हुने भएकोले नीति निर्माणमा तिनीहरूको पहुँच नहुने भएकोले गतिलो नीति बन्न सकेको पनि छैन । यदि माथिल्ला वर्गकाहरू पनि बढी जलनमा पर्ने भएको भए यससम्बन्धी सायद नीति बनिसक्थ्यो होला । उदाहरणको लागि लगभग २५ वर्षअघि नेपालका एक पूर्वप्रधानमन्त्रीको श्रीमतीलाई आगोले पोलिएको कारण उहाँको सक्रियतामा जलनसम्बन्धी अस्पताल खोलियो । यदि उक्त घटना नभएको भए त्यो अस्पताल अहिले नहुन पनि सक्थ्यो । त्यस्तै तत्कालिन राजा महेन्द्रलाई मुटुको समस्या भएपछि वीर अस्पतालमा मुटुको को उपचार शाखाको सुरुआत भएको हो । छोटकरीमा भन्ने हो भने अहिलेसम्म जलनको कुनै पनि ठोस नीति बन्न सकेको छैन । तर, केही समय यता जलनसम्बन्धी चासो भने बढ्न थालेको छ । यससम्बन्धी काम गर्ने संस्थाहरू बढ्दैछन् र सरकारले पनि चासो देखाउन थालेको हुँदा छिट्टै नीति बन्दछ भन्ने अपेक्षा गरौँ र यसको लागि हामी सबै लाग्नु पनि पर्दछ ।
समुदाय तहमा जलनको समस्यालाई सम्वोधन गर्नका लागि कस्तो रणनीति हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
रोकथामको लागि रणनीति बनाउनका लागि को बढी जलनमा पर्दछन् वा कुन वर्गलाई बढी पोल्छ ? कुन उमेर समूहलाई बढी पोल्छ ? कुन समयमा पोल्छ ? कुन स्थानमा बढी यस्ता घटना घट्छन् ? के कारणले पोल्छ ? भन्ने तथ्याङ्क हुन जरुरी छ । उदाहरणको लागि बंगलादेशका एक स्वास्थ्यकर्मीले बालबालिकालाई सबैभन्दा बढी आगोले पोल्ने समय बिहान विद्यालय जानुभन्दा अघि र विद्यालयबाट फर्केपछि रहेछ भन्ने पत्ता लगाएपछि उक्त समयमा सबै बालबालिकालाई एकस्थानमा भेला गराई त्यस समयमा बालबालिकाको लागि कार्यक्रम सञ्चालन गर्दा जलनको घटनामा उल्लेखनीय कमी आएको थियो । हामीले पनि आवश्यक सूचना सङ्कलन गरी रोकथामको लागि उपयुक्त रणनीति बनाउनुपर्ने हुन्छ ।
रोकथामको लागि सामान्यतया तीन प्रकारका नीति बनाउनुपर्ने हुन्छ । त्यसलाई हामी 3E को नीति भनेर बुझ्न सक्छौँः
E1: Education या शिक्षा । जलनबाट बच्नको लागि समुदायलाई हामीले शिक्षा दिनुपर्छ । यसबारे सचेतना जगाउने, आगो लाग्नबाट जोगिने तरिका सिकाउने, आगोलाई नियन्त्रणमा लिने तरीका सिकाउने आदि कुराहरू यसअन्तर्गत् पर्दछन् ।
E2: Engineering या भौतिक पूर्वाधारको अवस्था वा यसको बनावट । हाम्रोमा जलनका घटना प्राय भान्छा कोठामा चुलोको वरपर हुन्छन् । पकाउने चुलो भुइँमा हुन्छ । पकाएको खाना पनि भुइँमा नै राख्ने गरिन्छ । यस्तो अवस्थामा स–साना नानीहरू जलनबाट प्रभावित हुने सम्भावना बढी हुन्छ । यदि पकाउने स्थान केही उँचाईमा राख्ने हो भने यस्तो प्रकारका जलनका घटनाहरूलाई सहजै न्यूनिकरण गर्न सकिन्छ । ग्याँसको रेगुलेटरबाट ग्याँस चुहिएर धेरै जलनका घटना घट्छन् । यदि सुरक्षित प्रकारको रेगुलेटर, जुन लिक हुने बित्तिकै आफै बन्द हुन्छ, जडान गर्ने हो भने ग्याँसबाट हुने जलनलाई रोकथाम गर्न सकिन्छ । आगोको कारण धुवाँ आउने बित्तिकै ‘साइरन’ बज्ने प्रणाली भएमा बेलैमा जलनको घटना रोक्न सकिन्छ । विकसित भनिने देशहरूमा यस्ता कुरामा धेरै प्रगति गरिएका छन्, जसको कारण जलनको घटना अत्यन्तै न्यून मात्र हुने गर्दछ । उनीहरूबाट हामीले सिक्नु पर्दछ ।
E3: Enforcement of law या विधि तथा उपयुक्त नीति निर्माण र त्यसको अनिवार्य प्रयोगः जलनबाट बच्न नियम कानून कडा बनाउने र त्यसलाई अनिवार्य रुपमा पालन गर्न लगाउनु पर्दछ । उदाहरणको लागि प्रत्येक घरले ओगोबाट बच्ने यन्त्र राख्नै पर्ने नियम बनाउने, ग्याँस चुलोको रेगुलेटरको गुणस्तर तोक्नुपर्छ । हाम्रो आफ्नै अनुभवमा जब नेपाल सरकारले मादक पदार्थ सेवा (मापसे) को नीति बनाएर कडाई साथ लागु गर्यो, तब मापसेका कारण हुने सडक दूर्घटनामा उल्लेखनीय कमी आयो । जलन रोकथामको लागि पनि हामी यस्तै नीति बनाएर कडाईका साथ लागु गर्न सक्छौँ ।
नेपालका विकट जिल्लाबाट जलनको बिरामी काठमाडौका अस्पतालमा प्रेषण (रिफर) गर्दा उक्त बिरामी काठमाडौसम्म आईपुग्दा लगभग ८/९ घण्टा लाग्दछ । तर, बिरामीलाई काठमाडौं ल्याउने क्रममा उसको शरीरलाई चाहिने पानी नदिँदा अस्पताल आईपुग्दा उसको अवस्था गम्भीर भईसकेको हुन्छ र उसको बच्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । त्यसैले बिरामीलाई एम्बुलेन्स वा अन्य साधनमा ल्याउँदा स्लाईन दिएर ल्याइयो भने उसलाई बचाउन सकिने सम्भावना धेरै हुन्छ । यो कुरा गाउँका स्वास्थ्यचौकी र जिल्लाका अस्पतालका स्वास्थकर्मीहरूलाई बुझाउनु पर्यो र बिरामी ल्याउने परिवारका सदस्यहरूले पनि थाहा पाउनु पर्यो ।
त्यस्तै, जलनको घटना हुने बित्तिकै लगभग ३० मिनेट जति जलन भएको भागमा चिसो पानी खन्याउनु पर्दछ । पानी जहाँको भए पनि हुन्छ । धाराको पानी वा थापेर राखेको पानी वा खोलाको पानी भए पनि हुन्छ । तर, पानी सफा हुनुपर्छ, प्रदुषित पानी हुनु हुँदैन । यसो गरिएमा बिरामीको घाउ गहिरिन पाउँदैन र फैलन पनि पाउँदैन । तर, बरफ वा फ्रिजको चिसो पानी भने हाल्नु हुँदैन । यो कुरा गाउँघरमा सबैलाई बुझाउनु पर्दछ । यसलाई विद्यालयका शिक्षकहरूले सबै विद्यार्थीलाई बुझाउनै पर्दछ । यसो गर्न सकिएमा जलनका बिरामीहरुको उपचार अवधि छोटिन्छ, धेरैको ज्यान जोगाउन सकिन्छ ।
कीर्तिपुर अस्पतालमा जलनसम्बन्धी कस्तो कस्तो सेवा उपलब्ध छ ?
कीर्तिपुर अस्पतालमा लगभग ५ वर्ष अघिदेखि हामीले जलन वार्ड नै स्थापना गरेर जलनका बिरामीहरूलाई सेवा दिँदै आएका छौँ । हामीसँग जलनसम्बन्धी दक्ष स्वास्थकर्मी थुप्रै छन् र जलनकै बिरामी राख्ने २० भन्दा बढी बेड पनि छन् । जलन वार्डको छुट्टै अपरेसन कक्ष र सघन उपचार कक्ष (आईसियु) पनि छ । हामीले जलनको बिरामीको लागि अत्यावश्यक छाला प्रत्यारोपणका लागि छाला बैङ्क (Skin bank) पनि स्थापना गरेका छौँ । कीर्तिपुर अस्पतालमा जलनको उपचारको लागि राम्रोे व्यवस्था छ । तर अझै प्रयाप्त छैन, धेरै गर्न बाँकी छ । प्रत्येक वर्ष कसरी धेरैभन्दा धेरै बिरामी बचाउन सकिन्छ भन्ने कोशिस गरिरहेका छौँ ।
जलन अत्यन्तै खर्चिलो उपचार हो । जलनको घाउ ठीक पार्न धेरै पटक अपरेसन गर्नुपर्ने पनि हुन्छ । एउटा अपरेसन गर्न १५/१६ हजार लाग्छ भने धेरै पटक गर्दा धेरै नै खर्च हुने भयो । त्यसैले सामान्य परिवारका व्यक्तिले पोलेको उपचार गर्न गाह्रो छ । लामो समयसम्म अस्पताल बस्नुपर्ने भएकोले उपचार खर्चिलो हुन्छ । त्यसलाई दूई तरिकाले उपचारमा सहयोग गर्नुपर्ने देखिन्छ । कुनैपनि रोग लागेका जनताको उपचारको लागि सरकार नै सबैभन्दा जिम्मेवार हो र हुनुपर्छ । त्यसैले गरीव जनताको उपचारमा सरकारको सहयोग धेरै चाहिन्छ । गुणस्तरीय उपचार पाउनु नागरिकको अधिकार पनि हो । तर, सरकारले मात्रै सबै गर्न सक्दैन । अन्य देशहरूमा धार्मिक संस्थाहरूले चन्दा दिएर, सामाजिक संस्थाहरूद्वारा सञ्चालित अस्पतालमा उपचार गरेर पनि बिपन्न बिरामीहरूको उपचारलाई सुनिश्चित गरिन्छ ।
मेरो बिचारमा यदि हामीले स्थानीय सरकार (जस्तैः नगर/गाउँपालिका) सँग सम्झौता गरेर सामुहिक विमाको व्यवस्था गर्न सक्छौँ । साथै समाजका सम्पन्न वर्गले जलनको उपचारको लागि आर्थिक सहयोग गर्न सक्छन् । हाम्रो नेपालमा पनि त्यस्तो उपचार गर्ने प्रणालीको विकास गर्नुपर्छ । जलनमा परेको व्यक्तिको सही उपचार हुन सकेन भने उसको अङ्गभङ्ग हुने सम्भावना हुने हुँदा उसको व्यक्तिगत जीवन त तहसनहस हुन्छ नै उसको परिवारको अवस्था पनि डामाडोल हुन्छ । त्यसैले, हामी सबैले जलनको रोकथामको लागि योगदान गरौँ र जलनमा परेका बिरामीहरूलाई गुणस्तरिय सेवा दिनका लागि पनि योगदान गरौँ ।




Very practical interview which is very important and easy to understand.
निश्वार्थ र उत्तरदायिपूर्ण जीवनको पर्याय। उहाँको सरल जीवन, निश्वार्थी, सामुहिकरूपमा सहकर्मीहरूसंग गर्ने परिणाममुखि काम र समाजप्रतिको सद्भावले उचालिएको उच्च व्यक्तित्व।